शम्भु थापा
रौतहट, १५ साउन । नेकपा एमाले परित्याग गरेपछि रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख -मेयर) प्रेमीलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष राम प्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन्। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को प्रावधान अनुसार दुवै जनप्रतिनिधिको पद स्वतः रिक्त भएको सूचना शुक्रबार सार्वजनिक गरेको छ। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित साह र कुर्मीले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको एमाले केन्द्रीय सचिवालयले जनाएको थियो। एमालेले दल त्यागेको निर्णयको प्रतिलिपि आयोगमा पठाएपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई पदमुक्त गरिएको आयोगले स्पष्ट पारेको छ। निर्वाचन आयोगले जारी गरेको पछिल्लो सूचना अनुसार देशभरका विभिन्न स्थानीय तहका ६ जना जनप्रतिनिधिको पद एकैपटक रिक्त भएको छ, जसमा रौतहटका यी दुई जनप्रतिनिधि पनि परेका हुन् ।
रौतहटमा तीन पालिका प्रमुखविहीन
देवाही गोनाहीका नगरप्रमुख प्रेमीलाल साह कानु पदमुक्त भएसँगै रौतहटमा नगरप्रमुखविहीन हुने पालिकाको संख्या तीन पुगेको छ।
यसअघिः
फतुवा विजयपुर नगरपालिकाः प्रमुख गोपाल राय यादव
गढीमाई नगरपालिकाः प्रमुख श्याम यादव
दुवै प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरूको पद स्वतः निलम्बन/रिक्त अवस्थामा रहेको छ। स्थानीय सरकारका प्रमुखहरू नै एकपछि अर्को गर्दै पदमुक्त भएपछि सम्बन्धित नगरिकहरू प्रशासनिक तथा विकास निर्माणका काममा असर पर्ने भन्दै चिन्तित बनेका छन्।





प्रतिक्रिया थप्नुहोस्