शम्भु थापा
रौतहट, ३० असोज । सामाजिक सञ्जालमा धारिलो हतियार तरबार बोकेको तस्बिर तथा भिडियो पोस्ट गरी समाजमा त्रास फैलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका अनुसार पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्यामकुमार महतो रहेका छन्। महतोले टिकटकमा ‘King Of Rautahat’, ‘Rautahat King Always On Top’ र ‘System Bhai’ लगायतका नामबाट धारिलो हतियार बोकेको तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेको प्रहरीको भनाइ छ। त्यस्ता सामग्रीले समाजमा भय तथा त्रास सिर्जना गर्नुका साथै अशान्ति फैलाउने गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार असोज २८ गते राति करिब ११ बजे गौर नगरपालिका–४ बाट उनलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया थप्नुहोस्