रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु, दुई जना घाइते

शम्भु थापा 

रौतहट, कात्तिक १ । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–सितलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार राति करिब १ बजे मौलापुरबाट सितलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–२ सितलपुर निवासी ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए । घाइतेमध्ये सोमरिया देवी ठाकुरको उपचारका क्रममा बिहान करिब ५ बजे बाराको कलैयास्थित राजलक्ष्मी अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक त्रिविक्रम ठाकुर र पछाडि सवार सीमा कुमारी ठाकुरको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार पारेको थियो। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मौलापुरमा राखेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑