शम्भु थापा
रौतहट । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले ‘पोल्ट्री किसान राष्ट्रिय आन्दोलन संघर्ष समिति’ को केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ।
पोल्ट्री क्षेत्रमा किसानले भोग्दै आएका समस्या समाधान गर्न, किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न र बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ। किसानलाई ठगीबाट जोगाउने, उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्ने तथा पोल्ट्री क्षेत्रका समस्याको नीतिगत समाधान खोज्ने समितिको उद्देश्य रहेको छ। यसका लागि सरकारसँग निरन्तर संवाद र संघर्ष अघि बढाइने जनाइएको छ। घोषित केन्द्रीय तदर्थ समितिको संयोजकमा रौतहटका राधेश्याम साह चयन भएका छन् भने सह–संयोजकमा लमजुङका सन्तोष अधिकारी रहेका छन्।
त्यस्तै, समितिको सदस्यमा कास्कीका ईश्वर सापकोटा, बर्दियाकी कल्पना सुवेदी, काठमाडौंका जय प्रकाश बुढा मगर, सुन्दरीजलका सुरेश थापा, महोत्तरीका शंकर राय, धनुषाका आनन्द साह, पोखराका नारायण गिरी, झापाका जय पोखरेल, बाराका सुदेश गुप्ता, गोरखाका सुनिल राइका, ललितपुरका बद्री घिमिरे, सर्लाहीका जगर्नाथ चौधरी, सप्तरीका श्याम सुन्दर साह, विराटनगरका विजय कुमार साह, काठमाडौंका गौतम फुयाल, नुवाकोटका अर्जुन न्यौपाने, पोखराकी सरला थापा, गोविन्द संग्रौला र रसुवाका नेमा तामाङ रहेका छन्। समितिले पोल्ट्री किसानका समस्या पहिचान गरी किसानलाई संगठित गर्ने, बजारमा हुने सम्भावित अनियमितता तथा एकाधिकारविरुद्ध आवाज उठाउने र किसानमैत्री नीति निर्माणका लागि सरकारसँग पहल गर्ने लक्ष्य राखेको छ। पोल्ट्री व्यवसायलाई व्यवस्थित, पारदर्शी र किसानमुखी बनाउन उत्पादनदेखि बजारीकरणसम्मका समस्या समाधान गर्नुपर्ने आवश्यकता समितिले औँल्याएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले समेत उचित मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समितिको उद्देश्य रहेको छ।
प्रतिक्रिया थप्नुहोस्