दसैँको रौनक बढाउन चन्द्रपुरको शान्ति टोलमा परम्परागत पिङ निर्माण

शम्भु थापा

रौतहट २८ असोज । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शान्ति टोलमा परम्परागत पिङ निर्माण गरिएको छ। नेपाली मौलिक परम्परा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले श्री नारायणदल गणले स्थानीय एकता मैदानमा पिङ निर्माण गरेको हो। दसैँमा पिङ खेल्ने परम्पराले चाडपर्वको रौनक बढाउनुका साथै नेपाली समाजको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुर्‍याउँदै आएको छ। आधुनिकताको प्रभावसँगै कतिपय स्थानमा परम्परागत पिङ खेल्ने चलन घट्दै गइरहेका बेला यसको संरक्षणका लागि पिङ निर्माण गरिएको जनाइएको छ। शान्ति टोलस्थित एकता मैदानमा परम्परागत शैलीमा पिङ निर्माण गरिएसँगै स्थानीयवासीमा दसैँको उत्साह थपिएको छ। यसले चाडपर्वको रौनक बढाउनुका साथै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपाली समाजमा दसैँ र पिङ एकअर्काका परिपूरक मानिन्छन्। दसैँका बेला गाउँघरमा बाँस, डोरी र काठको प्रयोग गरी पिङ बनाउने तथा साथीभाइ र परिवारसँग रमाइलो गर्ने परम्परा छ। पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र मौलिक पहिचानको प्रतीकसमेत हो। पिङ निर्माण र खेल्ने परम्पराले नयाँ पुस्तालाई पुर्खादेखि चलिआएको संस्कृतिसँग जोड्न मद्दत गर्छ। बालबालिका, युवा तथा वृद्धवृद्धा एकै ठाउँमा भेला भएर रमाइलो गर्दा समुदायमा आत्मीयता र भाइचाराको भावना बढ्ने विश्वास गरिन्छ। दसैँको अवसरमा परम्परागत पिङ निर्माणले नेपाली लोकसंस्कृतिको संरक्षणमा टेवा पुर्‍याउनुका साथै चाडपर्वलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑