वैदेशिक रोजगारीमा पठाउने भन्दै ८१ लाख ५० हजार ठग्ने पक्राउ

मुख्य आरोपी काठमाडौँ बाट पक्राउ

शम्भु थापा

रौतहट, २९ असोज । वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–२ बलहा निवासी ४० वर्षीय सहाबुद्दिन शेख रहेका छन् । शेखसहित आठ जनाको समूहले शेख दरखासिद अनवरसहित सात जनालाई वैदेशिक रोजगारीमा पठाई राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै झुटो प्रलोभन देखाएको प्रहरीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ। उनीहरूले पीडितहरूको विश्वासमा परी मोबाइल बैंकिङ तथा बैंकिङ कारोबारमार्फत जम्मा ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको थियो। सोही क्रममा मुख्य आरोपी शेखलाई २०८३ असोज २७ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६, नयाँ बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका शेखमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑