शम्भु थापा
रौतहट, १५ असोज । रौतहटको बौधिमाई नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु भएको छ। मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको मोटरसाइकल बुधबार बिहान मौलापुर–बंकुल भित्री सडकखण्डमा BR05AU 0905 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–९ निवासी जितेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको सूचना बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलमा पुगेको थियो। त्यसलगत्तै प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी चौकी बंकुलबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा टोली र जिल्ला प्रहरी कार्यालय गौरबाट मुचुल्का टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ। मोटरसाइकल दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया थप्नुहोस्