ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच

शम्भु थापा

रौतहट, २२ असोज । ७१औँ प्रहरी दिवस तथा विश्व दृष्टि दिवस–२०८३ को पूर्वसन्ध्यामा रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा परीक्षण तथा औषधि-चश्मा वितरण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रत्यक्ष समन्वय तथा नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पतालको आयोजनामा गरुडा नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय शिवनगरको प्राङ्गणमा उक्त शिविर सञ्चालन गरिएको हो।​‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। ​शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ४७ जना कार्यरत ट्राफिक प्रहरी कर्मचारी तथा स्थानीय सर्वसाधारण गरी कुल १०३ जनाको आँखा जाँच गरिएको थियो। परीक्षणका क्रममा समस्या देखिएका व्यक्तिहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधि तथा सडकमा खटिने ट्राफिक प्रहरीलाई सुरक्षा चश्मा वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरलगायत स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। धुवाँ, धुलो र घाममा निरन्तर खटिनुपर्ने ट्राफिक प्रहरीका लागि स्पष्ट दृष्टि अति आवश्यक हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको गौर आँखा अस्पतालले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑