गौर – जिल्ला अदालत गौरले चन्द्रनिगाहपुरका व्यापारी रामबाबु शाह कलवारलाई अनुचित लेनदेन (मिटरब्याज) तथा सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद भट्टराईको इजलासले मुद्दामा संलग्न प्रमाण र मिसिलको अध्ययनपछि अनुसन्धान तथा सुनुवाइको सम्पूर्ण प्रक्रिया नसकिउन्जेल कलवारलाई थुनामै राख्नुपर्ने निष्कर्ष निकालेको अदालत स्रोतले जनाएको छ।
यो मुद्दा रामनाथ सहनीले दिएको जाहेरीपछि दर्ता भएको थियो। अदालतले प्रारम्भिक प्रमाणका आधारमा कलवारलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
चन्द्रनिगाहपुरका व्यापारी कलवारमाथि यसअघि पनि मिटरब्याजसँग सम्बन्धित गतिविधिबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए। पछिल्लो आदेशसँगै उनीमाथि लगाइएका आरोप अब अदालतमा नियमित सुनुवाइको विषय बनेका छन्।
अदालतको आदेशपछि कलवारलाई कारागार चलान गरिएको छ। अब मुद्दाको नियमित सुनुवाइपछि मात्रै उनीमाथि लगाइएका आरोप पुष्टि हुने वा नहुने टुंगो लाग्नेछ। कानुनअनुसार अन्तिम फैसला नआउँदासम्म उनी दोषी ठहरिएका मानिने छैनन्।
रौतहटमा पछिल्लो समय मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै आवाज उठाइरहेका बेला आएको यो आदेशलाई यस्ता मुद्दामा कानुनी प्रक्रिया अगाडि बढिरहेको संकेतका रूपमा हेरिएको छ।





प्रतिक्रिया थप्नुहोस्